माध्यमिक नेपाली व्याकारण (नेत्र एटम र कृष्ण हरि बराल) बाट
सर्वाधिकार लेखकद्वयमा सुरक्षित
व्यक्तिगत प्रयोजनको लागि टाइप गरेथिएँ अरूलाई पनि उपयोगी होला कि भनेर राखेको हूँ ।
ह्रस्व दीर्घ : (ह्रस्व - इ, उ, ु, ऋ, कृ, रु तथा दीर्घ - ई, ऊ, ू, रू)
(क) शब्दको सुरुमा ह्रस्व हुने
१. तद्भव र आगन्तुक नाम: इज्जत, इराक, किताब, घिउ, जिरी, ठिटो, छिमेक,
कुकुर, सुकुल, कुर्सी, निसाफ, तिहुन, पित्तल, सिक्किम, सिन्की, हिउँ, हिसाब
आदि ।
२. सबै व्युत्पन्न शब्दहरू: चिनियाँ, पिराहा, मितेरी, नुनिलो,
दुधालु, बुढ्याइँ, सिँगौरी, फुलौरा, धुपौरो, सिलौटो, खुनी, भित्रिया आदि ।
३. सबै धातु/क्रियापदहरू: दि, थियो, धु, हु, किन्, मिल्, सुत्, धुत्, लिन्छ, डुल्यो, हिँड्ला, तिर्नेछ, पिँध्, कुद् आदि ।
४. सबै अव्ययहरू: तिर, हिजो, भित्र, सित, निर, मुनि, किनभने, कि, धिक्कार! आदि ।
५. उत्, उप, कु, दुर्, निस्, वि, सु, नि आदि उपसर्ग लागेका शब्दहरू :
उल्लेख, उत्खनन्, उपहार, उपसचिव, कुकाठ, कुविचार, दुर्व्यवहार, दुर्मति,
विशेष, विमान, सुनाम, सुलेखा, निगम, निपात आदि ।
६. सङ्ख्यावाचक शब्दहरू (बीस, तीन र तीस बाहेक): दुई, उन्नाईस, उनन्तीस, त्रिचालीस, त्रिपन्न, त्रिसट्ठी आदि ।
७. दुई अक्षरका सर्वनामहरू : तिमी, उनी, यिनी, तिनी, उहाँ आदि ।
८. तद्भव र आगन्तुक विशेषणहरू : पिरो, चिसो, दुब्लो, इमानी, खियाउटे, निर्धो, मिहिनेती, रित्तो, रिसाहा, लुरे, कुरौटे आदि ।
९. त्रि र द्वि भएका शब्दहरू : त्रिकोण, त्रिदेव, त्रिशूल, त्रिभुवन, द्विगु, द्वितीय, द्विगुण आदि ।
१०. सबै अनुकरणात्मक शब्दहरू : कुटुकुटु, लुसुक्क, मुसुक्क, भुतुक्क, किटिक्क आदि ।
(ख) शब्दको बीचमा ह्रस्व हुने
१. मूल नाम : कुकुर, मुजुर, कपुर, मानिस, इन्जिन, मङ्सिर, उत्तिस, खरिदार, दाइजो, नरिवल, भानिज, रेडियो, सिलिङ, हँसिया आदि ।
२. विशेषण : अमिलो, उभिन्डो, कलिलो, बलियो, सजिलो, सिकिस्त, हरियो, गुलियो, बाटुलो, मौखिक, पठित, अन्तिम आदि ।
३. समापक र असमापक क्रिया : पिटियो, बाहिरिनु, भित्रिनु, गरिएको, भनिने,
हिँडिनु, खाइयो, गइन, जपिन्छ, मान्दिन, खाइटोपल्नु, गराइराखे, पढिरहन्छ,
भनिदियो, सुतिराख, बसिन्छ आदि ।
४. अव्यय शब्द : अहिले, कहिले,
निमत्त, बाहिर, मुन्तिर, झिमिक्क, झिलिक्क, रिमिक्क, हिरिक्क, अघिल्तिर,
दिउँसो, उहिले, लुरुक्क आदि ।
५. अति, अघि, अभि, अनु, परि, प्रति,
उपसर्ग लागेका शब्द : अतिरथी, अतिवाद, अधिकार, अधिपति, अनुभव, अनुहार,
अभिवक्ता, अभिनय, परिचय, परिक्रम, प्रतिनिधि, प्रतिक्रिया आदि ।
६. इक, इका, इत, इम, इमा, इष्ठ, ता, त्व प्रत्यय लागेका शब्द : भाषिक,
बौद्धिक, लेखिका, गायिका, रचित, हेलित, अग्रिम, स्वर्णिम, गरिमा, महिमा,
कनिष्ठ, जागरुक, भावुक, आज्ञाकारिता, ओजस्विता, सहकारिता, स्वामित्व,
स्थायित्व आदि ।
७. अन्त्यमा इया, इयाँ, इयार, इलो गासिएको शब्द : घटिया, झगडिया, चिनियाँ, सँधियार, अंशियार, दरिलो, दुधिलो आदि ।
८. पुलिङ्गबाट स्त्रीलिङ्ग बनाइएको शब्द : कमिनी, कर्किनी, पापिनी, घर्तिनी, थपिनी आदि ।
(ग) शब्दको अन्त्यमा ह्रस्व हुने
१. पुलिङ्गी नाम र नाता बुझाउने शब्द : ज्वाइँ, दाइ, नाति, पति, बाबु, गुरु,
पनाति, जेठाजु, पोइ, भाइ, भिनाजु, फुपाजु, बराजु, गोरु (अपवाद : सम्धी,
हात्ती, खसी, स्वामी) ।
२. उ अन्त्यमा आउने निर्जीव नाम : ठाउँ, गाउँ, हिउँ, घिउ, धनु, पिँडालु, आलु, मासु, स्याउ, केराउ, बीउ, लिस्नु आदि ।
३. अव्यय शब्द : अगाडि, अघि, मुनि, अनि, पनि, अस्ति, भोलि, खोइ, चाहिँ,
चोटि, देखि, निम्ति, वरिपरि, वारि, पर्सि, पट्टि, फेरि, बर्सेनि, बाजि
(लाई, हरू आदिबाहेक) ।
४. नु, आइ, आलु, याइँ, आउ, आरु, एलु प्रत्यय
लागेका शब्दहरू : लेख्नु, खेल्नु, लेखाइ, पढाइ, मायालु, दयालु, मुर्ख्याइँ,
फट्याइँ, घेराउ, चुनाउ, सिकारु, हटारु, घरेलु, बनेलु आदि ।
५. अन्त्यमा ति आउने सर्वनामबाट बनेका शब्द : यति, उति, कति, जति, त्यति आदि ।
६. अन्त्यमा चि, टि, णि, पि, थि, द्धि, धि, नि, षि, पि, भि, मि, रि, लि,
ष्टि आउने केही तत्सम शब्दहरू : शुचि, रुचि, त्रुटि, कोटि, मणि, पाणि,
कृति, कान्ति, मति, क्षति, प्रकृति, तिथि, सारथि, सिद्धि, बुद्धि, वृद्धि,
विधि, निधि, अग्नि, शनि, मुनि, लिपि, यद्यपि, नामि, दुन्दुभि, सुरभि, नाभि,
रश्मि, गरि, अरि, अञ्जलि, कलि, हवि, छवि, कवि, कृषि, ऋषि, सृष्टि, वृष्टि,
दृष्टि, पुष्टि, तुष्टि, सन्तुष्टि आदि ।
(घ) शब्दको सुरुमा दीर्घ हुने
१. केही सङ्ख्यावाचक शब्द : तीन, बीस, तीस ।
२. संस्कृतबाट नेपालीमा आउँदा व्यञ्जन लोप भएका तद्भव शब्द : मीठो, दूध,
सीप, ऊँट, मीत, चील, तीखो, तीतो पीठ, फूल, बूढो, ठूलो, पूरा आदि ।
३. केही तत्सम शब्द : ईश, कीट, क्रीडा, क्षीण, गीति, ग्रीष्म, जीव, टीका,
पीडा, दीक्षा, नीति, नीर, पीयूष, बीभत्स, वीर, शीत, शीर्षक, चीत्कार,
भीष्म, मीन, मीमांसा, सीता, स्वीकृति, न्यून, स्तूप, मूल्य, मूर्ख, शून्य,
सूक्ष्म, सूत्र आदि ।
(ङ) शब्दको बीचमा दीर्घ हुने
१. सबै खङ्ख्यावाचक शब्द : एक्काईस, बाईस, तेईस, तेत्तीस, चालीस, पैंतालीस आदि ।
२. इच्छार्थक क्रियापदहरू : आऊन्, गरून्, जाऊन्, लेखून, भनून् ।
३. ईय, ईन, अनीय, तीय प्रत्यय लागेका शब्द: केन्द्रीय, भवदीय, स्वर्गीय,
समकालीन, प्राचीन, कुलीन, नवीन, माननीय, स्मरणीय, द्वितीय, तृतीय आदि ।
४. केही तत्सम शब्द : परीक्षा, प्रतीक, अतीत, किरीट, गम्भीर, निरीह,
प्रतीक्षा, प्रतीत, मनीषी, वाल्मीकि, शरीर, शिरीष, समीक्षा, समीर, कुतूहल,
अनुभूति, उत्तीर्ण, चिरञ्जीवी, सपूत, सङ्गीत, समूह, अधीन, समीप आदि ।
५. करण, कृत, भवन, भूत आदि अन्त्यमा आउने शब्द : एकीकरण, औद्योगीकरण,
केन्द्रीकृत, स्वीकृत, एकीकृत, समीभवन, एकीभवन, केन्द्रीभूत, द्रवीभूत आदि ।
(च) शब्दको अन्त्यमा दीर्घ हुने
१. स्त्रीलिङ्गी
शब्द : आईमाई, उर्वशी, काली, किशोरी, गाई, गौरी, छोरी, जोई, दिदी, ढोई,
रानी, स्वास्नी, फूपू, भाउजू, माइजू, सासू, जेठानी, पातली, सावित्री,
भैंसी, बहिनी, बदिनी, दासी, तरुनी, युवती, ठिटी आदि ।
२. ई अन्त्यमा
आउने निर्जीव नाम : औँठी, कैँची, खरानी, खोपी, गाग्री, मिठाई, सारी, धोती,
पानी, फर्सी, टोपी, थाली, डाली, बाल्टी, पगरी आदि ।
३. जाति, पेसा, थर बुझाउने शब्दहरू :
(क) जाति: कामी, दमाई, सार्की, घर्ती, ज्यापू, किराँती, लिम्बू, राई, माझी, छेत्री आदि ।
(ख) पेसा : ज्यामी, डकर्मी, पादरी, प्रहरी, माली, विद्यार्थी, व्यापारी, पुजारी, सिकर्मी, आदि ।
(ग) थर : अधिकारी, सुवेदी, उप्रेती, रेग्मी, लोहनी, पुरी, प्रसाईं, भट्टराई, गरागाईं, त्रिपाठी आदि ।
४. सबै सर्वनाम शब्द : यी, ती, तिमी, तपाईं, आफू, तिनी, यिनी, ऊ, हामी आदि ।
५. सबै सङ्ख्यावाचक शब्द : दुई, साठी, असी, सत्तरी, बैसट्ठी, एकासी आदि ।
६. सबै क्रियापदहरू : जानू, भन्नू, हेर्नू, गई, लेखी, दिई, पाई, सुनी आदि ।
७. ही, री, ती, ई, अरी, तरी मा टुङ्गिने शब्द : केही, सोही, काहीँ, यसरी, कसरी, यस्तरी, उस्तरी, कस्तरी, सरासरी आदि (अपवाद : चाहिँ)
८. एर अर्थ दिने कृदन्त अव्यय : लेखी, भनी, सुनी, गई, तिरी, बनी आदि ।
९. विशेषण शब्द : चालू, लागू, अल्छी, इलमी, उपकारी, तन्नेरी, दुःखी, धनी,
बुद्धू, रोगी, ज्ञानी, घाँसी, दानी, त्यागी, गफाडी, नेपाली, गोर्खाली,
दङाली आदि ।
१०. भाषा, ठाउँ, नदी बुझाउने नाम: अङ्ग्रेजी, जापानी,
मैथिली, हिन्दी, इटालेली, कास्की, कैलाली, ठिमी, सप्तरी, कर्णाली, राप्ती,
बंबई, सेती, गण्डकी आदि ।
११. स्नेहवाची नाम : बाबू, नानू, सानू, कान्छू, कालू आदि ।
१२. विशेषणबाट बनेका भाववाची नाम : गरिबी, अमिरी, इमानदारी, नोकरी, चाकरी, जवानी, बोली, चोरी आदि ।
१३. अन्त्यमा मती, वती, वी आएका तत्सम शब्द : अमरावती, रूपवती, श्रीमती, सौभाग्यवती, ओजस्वी, तपस्वी, तेजस्वी, मायावी, मेधवी आदि ।
ब, व र ओ को प्रयोग
(क) ब को प्रयोग हुने
१. ब उच्चारण हुने सबै तद्भव र आगन्तुक शब्दमा ब को प्रयोग हुन्छ : अखबार,
कबुलियत, बकुल्लो, बतास, बँदेल, बगैँचा, बैँस, बोक्रो, बन्दी, बख्खु, बखत,
बापत, बकस, बाकस, बाबा, बन्दुक, सुब्बा, बन्द, जाबो आदि ।
२. ब उच्चारण हुने सबै धातु र क्रियापदमा ब लेखिन्छ : बन्, बक्, बच्, बढ्, बित्,
बिर्स, बेहोर्, बन्यो, बग्छ, बच्ला, बितेछ, बिर्सन्छन्, बढेथ्यो आदि ।
३. केही अव्यय शब्द : अब, कब, जब, तब, बित्तिकै, बिस्तारै, बेग्लै, बेसरी, ब्यारे आदि ।
४. बे, बद, बि उपसर्ग लागेका शब्द : बेकाम, बेनाम, बेवारिस, बेकार, बदनाम, बदमास, बदनियत, बिकाम, बिखर्ची आदि ।
५. म् पछि ब को प्रयोग हुन्छ : चुम्बक, चुम्बन, सम्बन्ध, कुटुम्ब, अम्बर, सम्बोधन, अम्बा आदि ।
६. केही तत्सम शब्द : कुबेर, निबन्ध, बध, बद्ध, बन्धु, बाल, बाहु, ब्रहृम, ब्रह्माण्ड, बृहत्, बृहस्पति, शब्द, स्तब्ध, बहु आदि ।
(ख) 'व' को प्रयोग हुने
१. नेपालीमा व उच्चारण हुने शब्दहरूमा व नै लेखिन्छ : वर, वरिपरि, वारि,
वल्लो, वहाँ, कछुवा, कुवा, चिरुवा, निबुवा, बिरुवा, भुवा, रुवा, हरूवा,
क्वाप्लाक्क, क्वार्र, ट्वाक्क, ल्वाम्म, प्वाक्क, ह्वास्स, आवास,
वारेसनामा, वापस, वकिल, ढेवा आदि ।
२. वान्, वत्, वती, विद् मा
टुङ्गिने शब्दमा : गुणवान्, धनवान्, बलवान्, पुत्रवत्, आत्मवत्, पुत्रवती,
सौभाग्यवती, भगवती, प्राणीविद्, विज्ञानविद् आदि ।
३. व्य आएका शब्दमा : अव्यय, व्यवहार, गन्तव्य, द्रष्टव्य, व्यापक, व्यग्र, व्यापार, काव्य, व्याख्या, व्याप्ति आदि ।
४. आवट, उवा, वाला, वार, वारी प्रत्यय लागेका शब्द : सजावट, बनावट, लेखुवा, झिकुवा, घरवाला, खेतवाला, जिम्मेवारी, उम्मेद्वार आदि ।
५. सम् उपसर्गपछि व लेखिन्छ : संविधान, संवाद, संवेदना, संवरण, संवत्सर आदि ।
६. ब उच्चरण भए पनि व लेखिने केही तत्सम शब्द : अनुभव, कवि, गर्व, जीवन,
दानव, देवता, पर्व, प्रवाह, भावना, मानव, वचन, वर्ण, वर्णन, वायु, वसन्त,
वाक्य, वातावरण, विश्वविद्यालय, वाणी, वाद, वानर, वाहान, विभिन्न, विशाल,
वैदिक, विभेद, वैश्य, व्रत, वृक्ष, शिव, वैद्य, वास्तविक, विशेष आदि ।
(ग) ओ को प्रयोग
१. तद्भव र आगन्तुक शब्द : ओटा, ओखर, ओखती, ओठ, ओभरसियर, ओरालो, ओहदा, ओइरो, ओथारो, ओदान, ओझेल, ओतप्रोत, ओडार आदि ।
२. क्रियापदमा : खाओ, जाओ, बनाओस्, ओकल्नु, ओगट्यो, ओढ्छ, ओतिन्छ, ओराल, ओर्लनु, ओसार्यो आदि ।
'ए', 'य', 'ये' को प्रयोग
(क) ए को प्रयोग हुने
१. एकबाट बनेका शब्द : एक, एघार, एक्काईस, एकतीस, एकचालीस, एकाइ, एउटा, एकाङ्की, एक्लो, एकान्त, एकासी आदि ।
२. इच्छार्थक क्रियापद : गएस्, खाए, खाएस्, धोएस्, भएस् आदि ।
३. भूतकालका क्रियापदमा : गए, खाएनन्, दिएनौ, भएँ, नुहाएँ, आएन, पाएछ, धोएथ्यो, पिएन, दिएछ आदि ।
४. एर, एको प्रत्यय लागेको कृदन्त शब्द : गएको, भएर, दिएको, भएको, पिएर आदि ।
(ख) य को प्रयोग
१. यो, त्यो सर्वनाम र तिनबाट बनेका शब्द : यो, त्यो, यति, त्यति, यस्तो,
त्यस्तो, यहाँ, यस, त्यहाँ, त्यस, यही, त्यही, त्यस, यहीँ, त्यहाँ, यसरी,
त्यसरी, यतिन्जेल, त्यतिन्जेल आदि ।
२. भूतकालको क्रियापदमा : भयौ, भयो, खायो, खायौ, भन्यौ, थियौँ, जान्यो, आदि ।
३. व्यत्पन्न शब्दमा : कमैया, जहानियाँ, चिनियाँ, सहरिया, गवैया, रत्यौली, दुस्ट्याइँ, हँस्यौली, भरिया, करिया आदि ।
४. केही आगन्तुक शब्दमा : यकिन, सायद, पायल, डायरी, यहुदी, घायल, डायल, खयर, एयर, टायम, कायल, टायर, सायरी आदि ।
५. केही तत्सम शब्द : अन्यायी, अनुयायी, स्थायी, सुखदायी, दृश्य, पद्य,
गद्य, जय, मूल्य, पूज्य, मनुष्य, यक्ष, वाणिज्य, दैत्य, यमक, यन्त्र,
स्थायित्व, रचियता, यश, गायिका, नायिका आदि ।
(ग) ये को प्रयोग
१. केही शब्दमा मात्र : अन्येष्टि, ज्येष्ठ, ध्येय, प्रत्येक, मध्ये आदि ।
ऋ र रि को प्रयोग
१. तत्सम शब्दमा मात्र ऋ को प्रयोग हुन्छ : ऋग्वेद, ऋचा, ऋजु, ऋण, ऋतु, ऋषभ,
ऋषि, कृत, कृतज्ञ, कृति, कृत्रिम, कृपा, कृषक, गृह, घृणा, तृतीय, तृप्ति,
दृढ, दृश्य, पृथक्, बृहत्, भृकुटी, मृत, वक्तृत्व, वृद्धि, वृश्चिक,
शृङ्खला, सृष्टि, समृद्धि, हृदय, मृदुल, शृङ्गार आदि ।
२. तद्भव र आगन्तुक शब्दमा रि को मात्र प्रयोग गरिन्छ : रिस, रित्तो, रिकापी, रिङ,
रिपोर्ट, रिक्सा, रिबन, सिरिङ्ग, रिङटा, रिल आदि ।
क्ष/क्षे/क्ष्य, छ्या/छे को प्रयोग
१. क्ष, क्षे, क्ष्य को प्रयोग तत्सम शब्दमा मात्र हुन्छ : अक्ष, अक्षता,
अक्षर, अध्यक्ष, आक्षेप, कक्ष, क्षमता, क्षय, क्षितिज, दक्ष, पक्ष, तक्षक,
निक्षेप, प्रत्यक्ष, परीक्षण, राक्षस, रुक्ष, भक्षण, भिक्षुक, सर्वेक्षण,
भिक्षा, लक्षण, लक्ष्मण, विक्षेप, शिक्षा, सङ्क्षेप, समक्ष, साक्षात्,
साक्षी, क्षेत्र, क्षेप्यास्त्र, क्षेम, क्षत्रिय, क्षेपक, लक्ष्य,
उपलक्ष्य, क्षण, क्षत, क्षत्री, क्षमा, क्षर, परिप्रेक्ष्य, भक्ष्य,
रक्ष्य, आरक्ष्य आदि ।
२. छ्, छ्या, छे को प्रयोग तद्भव र आगन्तुक
शब्दमा हुन्छ : छेत्री, अच्छेता, छिन, छेक, छेउ, छेस्किनी, छेपारो, छेलो,
छ्या, छ्याङ, छ्यापछ्याप्ती, रछ्यान, बिछ्यौना, छल, इच्छा आदि ।
छे, छ, तत्सम शब्दमा पनि प्रयोग हुन्छन् तर छ्य प्रयोग हुदैन ।
श (तालव्य), ष(मूर्धन्य), स (दन्त्य/पातलो)
(क) श को प्रयोग हुने अवस्था
१. विसर्गभन्दा पहिले श प्रयोग हुन्छ : क्रमश:, अक्षरश:, प्रायश:, शतश:, शब्दश: आदि ।
२. ऋ, च, र, ल वर्णभन्दा अगाडि श प्रयोग गरिन्छ : पश्चात्, पश्चिम, शृङ्गार,
शृङ्खला, निश्चय, आश्चर्य, विश्राम, अश्रु, श्लेष, श्लिष्ट आदि
३. श भन्दा अगाडि श को प्रयोग हुन्छ : शिशिर, शिशु, शशी, शाश्वत, शैशव, शुश्रुषा आदि (अपवाद सु उपसर्ग भएमा)
४. स र ष भन्दा अगाडि श को प्रयोग हुन्छ : आशिष्, प्रशंसा, आश्वस्त, श्वास,
विशेष, विशिष्ट, नृशंस, प्रशाशक, शासन, शास्त्र, शोषक, विश्लेषण, शेष आदि ।
५. श प्रयोग हुने केही तत्सम शब्दहरू : शकुनि, शक्ति, शब्द, शरण,
शास्त्र, शुचि, शैक्षिक, शैली, शोक, श्मशान, श्रुति, श्वास, श्वेत, अशक्त,
आशीर्वाद, पाश्चात्य, प्रशाखा, विश्व, संशोधन, स्पृश्य, अंश, आक्रोश, आवेश,
गणेश, दिशा, यश, प्रकाश, विमर्श, सदृश्य, स्पर्श आदि ।
(ख) ष को प्रयोग हुने अवस्था
१. स्वरवर्णको लगत्तै पछाडि ष् प्रयोग हुन्छ : अष्ट, आषाढ, दुष्ट, रुष्ट, सन्तुष्ट, उष्ण, उष्म, उषा, ऋषभ, ऋषि, ओष्ठ, औषधि आदि ।
२. षट् जोडिएर बनेका शब्द : षट्कोण, षट्चक्र, षडानन्, षड्गुण, षड्दर्शन आदि ।
३. क, ट, ठ, ड, ण का अघिल्तिर ष प्रयोग हुन्छ: कृषक, कृष्ण, तृष्णा,
दृष्टान्त, ओष्ठ्य, कनिष्ठ, अनुष्ठान, घनिष्ठ, पाषाण, विशेषण, षोडशी,
निष्कण्टक, निष्क्रिय, पुष्कर, शुष्क, मस्तिष्क आदि ।
४. ष प्रयोग
हुने अन्य केही तत्सम शब्द : अभिषेक, ईर्ष्या, कोष, ग्रीष्म, निमेष, पौष,
विषम, महिष, विषाद, हर्ष, निष्फल, भीष्म, मेष, भूषण, वर्षा आदि ।
(ग) स को प्रयोग हुने अवस्था
१. नेपाली तद्भव र आगन्तुक शब्दमा स मात्र प्रयोग हुन्छ : आँसु, सहर, दस,
पुस, मङ्सिर, साग, सिँगार, तिर्सना, कोसिस, फेसन, लास, सास, खास, बदमास,
सहिद, सायद, सैतान, स्टेसन, सिकार, सान, सनाई, सेतो, ससुरा, सिन्की, सुगा,
स्कुल, सिङ, मुसो, असोज, बादसाह आदि ।
२. स, सत्, सह, सु, सम् उपसर्ग
लागेका शब्दहरूमा स प्रयोग हुन्छ : सजाति, सपरिवार, सकल, सबल, सत्कर्म,
सद्भाव, साकार, सदिच्छा, सहभाव, सहभागी, सहयोग, सहचारी, सुकर्म, सुश्री,
सुशील, सुशोभित, सुषुप्त, सुरक्षा, सम्बन्ध, संवाद, संवत्, संवेदना,
सम्बोधन आदि ।
३. अगाडि स्व, स्वयम् आउने शब्दमा : स्वकिय, स्वचालित, स्वच्छन्द, स्वतन्त्र, स्वयम्भू, स्वयंवर, स्वयम् आदि ।
४. स प्रयोग हुने केही तत्सम शब्दहरू : दास, पुरस्कार, भस्म, भास्कर, रहस्य,
विस्फोट, सदन, सलिल, साधु, स्थल, स्नान, स्फुरण, स्मारक, स्वभाव, स्वर्ग,
हास्य, पुस्तक, स्तुति, सुत आदि ।
ग्या/ग्यँ र ज्ञ को प्रयोग
१. ज्ञ को प्रयोग तत्सम शब्दमा मात्र गरिन्छ : अज्ञान, ज्ञान, विज्ञप्ति,
ज्ञापक, जिज्ञासा, प्रतिक्षा, यज्ञ, युवराज्ञी, विज्ञ, विज्ञान, विज्ञापन,
संज्ञा, सम्राज्ञी, ज्ञात आदि ।
२. ग्यँ/ग्या को प्रयोग आगन्तुक र तद्भव शब्दमा गरिन्छ : ग्याँचे, ग्याँक्क, ग्यारेन्टी, ग्याटिस, ग्यास्टिक,
ग्याङ, ग्यालग्याल आदि ।
हलन्त (खुट्टो काटिने) र अजन्त (खुट्टा नकाटिने) को प्रयोग
व्यञ्जन
वर्णलाई हल् भनिने हुँदा व्यञ्जनमा अन्त्य भएको शब्दलाई हलन्त भनिन्छ ।
शब्दका अन्त्यमा स्वर नभएको वर्णको खुट्टो काटिन्छ । अच् भनेको स्वर हो र
अन्त्यमा खुट्टो नकाटिएको शब्दलाई अजन्त भनिन्छ ।
(क) हलन्त (खुट्टो काटिने) को प्रयोग हुने स्थान
१. हलन्त उच्चारण गरिने क्रियापदमा : पढ्, लेख्छन्, भन्, हेरेस्, लेखून्,
जान्छन्, गएस्, गरिन्, हेर्थिस्, गरोस, होलान, गर्छेस् आदि ।
२. केही अव्यय शब्द : इस्, उफ्, क्याबात्, स्याबास्, झन्, धत्, हट्, आदि ।
३. वान्, मान्, वत्, अन्त्यमा आउने तत्सम शब्द : गुणवान्, धनवान्, बलवान्,
श्रीमान्, पुत्रवत्, दण्डवत्, मित्रवत्, विद्वत्, संवत्, भगवान्, विद्वान्, हनुमान् आदि ।
४. केही अन्य तत्सम शब्द : अकस्मात्, आपद्, जगत्,
वलात्, भविष्यत्, विद्युत्, शरद्, हठात्, अनुष्टुप्, आशिष्, दिक्, पृथक्,
विराट्, सम्राट्, बृहत्, यावत्, संसद्, स्वागतम्, अहम्, शुभम्, स्वागतम्
आदि ।
(ख) अजन्त (खुट्टो नकाटिने) अवस्था
१. नाम,
सर्वनाम, विशेषण र अव्यय शब्दको उच्चारण गर्दा अन्त्यमा हलन्त भए पनि
लेखाइमा खुट्टो काटिँदैन : भात, झ्याल, उसको, असल, काम, गरिब, चरन, जापान,
बजार, मौसुफ, हजुर, रिस, सहित, हिमाल, नेपाल, घर, चौपट, कठोर आदि ।
२. कतिपय अनुकरणात्मक शब्दको उच्चारण गर्दा हलन्त भए पनि खुट्टो काटिँदैन :
झलमल, गनगन, पटपट, दनदन, सकसक, खलखल, सरसर, बरबर, कलकल, खुसखुस आदि ।
चन्द्रबिन्दु र शिरबिन्दुको प्रयोग
चन्द्रबिन्दु (ँ) ले नाकेध्वनिलाई बुझाउँछ भने शिरबिन्दु (ं)ले पञ्चम वर्ण (ङ्, ञ्, ण्, न्, म्) लाई बुझाउँछ ।
(क) चन्द्रबिन्दुको प्रयोग हुने अवस्था
१. चन्द्रबिन्दु प्रयोग हुने केही शब्दहरू : अँध्यारो, आँप, आँसु, गँगटो,
घाँटी, घुँडो, घाँडो, जुँगा, टाँक, ठाँट, तुवाँलो, ध्वाँसो, फाँसी, बाँस,
भुँडी, सुँगुर, नयाँ, दायाँ, बायाँ, मैयाँ, उहाँ, कहाँ, उहीँ, जहाँ, यहाँ,
वहाँ, उहाँ, घाँस, तँ, चँदुवा, गाँस, अँजुली, बियाँ, चाँचरी, जाँच, स्वाँर
आदि ।
२. प्रथम पुरुषको क्रियापदमा : छौँ, गएँ, भयौँ, थिएँ, जाउँला, भनौँला, लेख्थेँ, हार्यौँ आदि ।
३. धातुसँग द/दा/दै जोडिएकोमा : देखिँदा, जाँदै, सुनाउँछ, पाउँदा हुँदै, सकिँदैन, छोडिँदै आदि ।
४. दुईओटा स्वरमा अन्त्य हुने धातुमा थ् वा छ का रूपहरू जोडिएकोमा : आउँछ, देखाउँथ्यो, पाउँछन्, हराउँथे, गाउँछौँ, लेखाउँथी आदि ।
(ख) शिरबिन्दुको प्रयोग हुने अवस्था
१. तत्सम शब्दमा य, र, ल, व, श, स, ष, ह, ज्ञ वर्णभन्दा अगाडि पञ्चम वर्णका
लागि शिरबिन्दु प्रयोग गरिन्छ : संयोग, संयोजन, संयम, संरचना, संरक्षण,
संलग्न, संवाद, संवेदना, संशय, अंश, अपभ्रंश, संसार, अंशु, संवत्सर, संवत्,
संसर्ग, संहार, संज्ञा, संज्ञान आदि ।
२. माथिका बाहेक अन्य वर्णका अघिल्तिर, तत्सम शब्दमा पञ्चम वर्णको प्रयोग गरिन्छ :
क, ख, ग, घ भन्दा अगाडि ङ् को प्रयोग हुन्छ : अङ्क, शङ्क, सङ्गत, अङ्ग, सङ्घ ।
च, छ, ज, झ भन्दा अगाडि ञ् को प्रयोग हुन्छ : पञ्चायत, सञ्चय, लाञ्छना, सञ्जय, पुञ्ज, झञ्झा आदि ।
ट, ठ, ड, ढ भन्दा अगाडि ण् को प्रयोग हुन्छ : कण्टक, घण्टा, कण्ठ, पण्डित, चण्डी, शण्ढ आदि ।
त, थ, द, ध का अगाडि न् को प्रयोग हुन्छ : सन्त, पन्थ, मन्द, गन्ध आदि ।
प, फ, ब, भ का अगाडि म् को प्रयोग हुन्छ : कम्प, पम्फा, सम्बन्ध, अम्बा, शम्भु आदि ।
नेपाली
तद्भव र आगन्तुक शब्दमा भने उच्चारण अनुसारकै पञ्चम वर्ण प्रयोग गरिन्छ,
शिरबिन्दुको प्रयोग गरिदैन : भन्छ, पन्चर, फन्को, दुम्जा, बम्कनु, रुम्जा,
चम्चा, झन्झट, झन्डा, गुन्डा, अन्डा, डन्डा, मन्जुर, लन्डन, सन्काहा,
ब्यान्ड, रम्घा, सन्जोग आदि ।
पदयोग र पदवियोग
पदयोगको परिचय
पदयोग भनेको शब्दहरूलाई जोडेर लेख्नु हो भने पदवियोग भनेको शब्दहरूलाई छुट्याएर लेख्नु हो ।
(क) पदयोग हुने अवस्था
१. विभक्ति, उपसर्ग, प्रत्यय, नामयोगी शब्दहरू जोडिएर लेखिन्छन् : रामले,
तिमीलाई, घरमा, स्कुलबाट, सहकुलपति, अनुसार, बदनाम, लेखहरू, किनुन्जेल,
बोलक्कड, त्यहाँभित्र, चौरसँग, आमाबिना, बायाँपट्टि, सुशीलभन्दा, बिनाकाम
आदि ।
२. समास भएर बनेका शब्दहरू जोडिएर लेखिन्छन् : पूजासामाग्री, आमाछोरी, माछापुच्छ्रे, घण्टाघर, चरीनङ्गे आदि ।
३. द्वित्व भएर बनेका शब्दहरू जोडिएर लेखिन्छन् : घरघर, गर्ल्यामगुर्लुम, बल्लबल्ल, सरसर, झैझगडा, आलोपालो, ऐँचोपैँचो आदि ।
४. संयुक्त क्रियाहरू जोडिएर लेखिन्छन् : खानुपर्थ्यो, गइसक्नुभएछ, पढिसकी,
धोइदियो, गरिदिइहाल्नुपर्छ, हिँडिसक्नुभयो, लेखिदिउँला आदि ।
५. अकरण बुझाउने न जोडिएर लेखिन्छन् : नहेर, जाँदिनँ, हेर्दैनथ्यो, गएन, नखालान्, गइनछिन् ।
६. केही अव्ययहरू जोडिएर लेखिन्छन् : किनभने, किनकि, तापनि, यसकारण, हुनत आदि ।
(ख) पदवियोग हुने अवस्था
१. वाक्यमा प्रत्येक शब्दहरू छुट्टाछुट्टै लेखिन्छन् : हामी बजार गएर छाता ओढी छिटै फर्क्यौं ।
२. विभक्तिभन्दा पछि आएको विभक्ति वा नामयोगी नजोडिई लेखिन्छन् : रामका लागि, सुमनका निम्ति, हरिका मा, त्यसदेखि पर, उसले भन्दा, कोठाका पछिल्तिर
आदि ।
३. निपातहरू छुट्टै लेखिन्छन् : हिजो त श्यामको भाइ पो बिरामी परेछ रे ! तिमी नै गए है ।
४. विभाजक न आएमा छुट्टै लेखिन्छन् : न यता न उता, न आयो न खबर गर्यो, न राम न लक्ष्मण आदि ।
५. संयुक्त क्रियाका बीचमा निपात आएमा क्रिया छुट्टै लेखिन्छन् : जानु नै पर्छ, भन्नु त पर्ने नै हो, कुट्नु त भएन आदि ।
६. क्रियापदले अपूर्ण र पूर्ण पक्ष जनाउँदा छुट्टै लेखिन्छन् : जाँदै छ, भनेको हुनेछ, लेख्दै छन्, पढेकी थिइन् आदि ।
माध्यमिक नेपाली व्याकारण (नेत्र एटम र कृष्ण हरि बराल) बाट
सर्वाधिकार लेखकद्वयमा सुरक्षित
(अनुमति कसलाई माग्ने भनेर थाहा नभएकोले सोध्दै नसोधी यहाँ हालेको हूँ, लेखक प्रकाशकलाई आपत्ति भएमा भन्नु होला म हटाउने छु)